रूसले उत्तर कोरियासँग शीर्ष वार्ता गर्ने

मस्को : उत्तर कोरिया र उसको सहयोगी देश रूसबीच शीर्ष वार्ता हुने भएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी दिएको छ । 

गत बिहीबार मात्रै रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरेर नेता किमलाई भेटिसकेका छन् । यो वर्ष कोरिया र रुसको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षसमेत भएकोे उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । 

दुवै पक्षले शीर्ष वार्ता गर्नु पर्ने महशुस गरेको र त्यो यसै बर्ष गर्ने तय भएको अधिकारीहरूले बताएका छन् । उनीहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

दैनिक पत्रकार सम्मेलनमा बोल्दै पेस्कोभले त्यस्तो प्रकारको बैठक हुने सम्भावना बढेको जानकारी दिएका छन् । कुटनीतिक संयन्त्रमार्फत् भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य बिषयबारे भने गोप्यता कायम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?