पाल्पा दुर्घटना अपडेट: मृत्युको हुनेको सङ्ख्या १४ पुग्यो, थप एकको सनाखत

पाल्पा । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको  छ भने ९ जना घाइते छन् ।
पाल्पा प्रहरीले बताए अनुसार तानसेन नगरपालिका-३ का प्रभास बज्राचार्यको सनाखत भएको हो ।

यसअघि १३ जनाको सनाखत भइसकेको छ । मृत्यु हुने अन्यमा तानपा – ३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ६० वर्षीय क्षेत्रमान शाक्य, ५८ वर्षीय कृष्णमान बज्राचार्य, तानसेन नगरपालिका – ६ का ४३ वर्षीय सचिन बज्राचार्य ५१ वर्षीय सुशील प्रसाद श्रेष्ठ, २९ वर्षीय गीता बुढाथोकी, त्यस्तै तानपा – ४ का ५० वर्षका कृष्णबहादुर बोहरा, ६२ वर्षीय दुर्गाबहादुर सारू, तानपा ३ की ३९ वर्षीया बसन्ती खाँड, ४२ वर्षीय कमला कार्की, तानपा – २ का ५९ वर्षीय लोकनाथ ढकाल, त्यस्तै, तानपा – ५ की दुर्गादेवी श्रेष्ठ र तानपा – २ की ४५ वर्षीया मुना सारु रहेका छन् ।

ज्यान गुमाउने सबै पाल्पा जिल्लाका छन् । बसका चालक अर्जुन थापा घाइते छन् । उनीसहित घाइते भएका मिना खाम्चा र प्रविण बज्राचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेको पाल्पाको प्रभास मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बस के केति कारणले घाइते भयो भन्ने खुल्न सकेको छैन । जिल्लाको सदरमुकाम तानसेनतर्फ जाँदा दुर्घटनामा परेको लु२ख ९७५ नम्बरको बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।
रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान दुर्घटनामा परेको थियो ।

घटना के कति कारणले भयो भन्ने अझै खुल्न सकेको छैन तर मोटरसाइकललाई साइड दिन खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरो, एकको मृत्यु

यसैबीच सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । शुक्रबार पहिरो खसेको स्थान हेडबक्स नजिकै पैदल हिँड्दै गरेका पाल्पा मस्यामका मोहन रेश्मीको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

सिद्धबाबामा बिहान करीब ३ बजे पहिरो खसेको थियो । चार जनाको समूहमा बुटवलतर्फ आउँदै गरेकामध्ये रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । सिद्धबाबामा पहिरो जाँदा बुटवल –तानसेन सडकखण्ड अवरुद्ध भएको छ । सो स्थानमा पानी पर्नासाथ पहिरो जान्छ । अहिले सडक खुलाउने काम भइरहे पनि पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?