काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको ५ सहमहामन्त्रीको मतगणना सुरु भएको छ ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ । त्यससँगै आज (शुक्रबार) कुल आठमध्ये ५ को मतगणना हुन लागेको हो ।
मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।
खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।
मंसिर २७ गते भएको निर्वाचनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्रीको अन्तिम नतिजा आइसकेको छ । समितिका अनुसार सहमहामन्त्रीपछि अब केन्द्रीय सदस्यको मतगणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया