अनुदानमा कृषि औजार वितरण

कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रमअन्तर्गत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख नीरञ्जन तिवारीले बताउनुभयो । बीसवटा मिनीटेलर हलो, पाँचवटा मकै छोडाउने मेसिन, ६० वटा बीउ सुकाउने त्रिपाल, ४० वटा पलास्टिक टनेल, १५ वटा स्प्रे टंकी (विषादी राखेर छर्कने भाँडा) र दुईवटा चेप कटर वितरण गरिएको हो ।मंगलाको कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका कृषकबाट आवेदन संकलन गरी उनीहरुले माग गरे अनुसारका सामान खरिदमा अनुदान उपलब्ध गराइएको हो । पचासवटा मौरी घार र तीनवटा पावर टिलर खेत जोत्ने आधुनिक हलोसमेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा कृषि र पशु विकास क्षेत्रमा रु एक करोड ९ लाख विनियोजन गरेको गाउँपालिकाले कृषकलाई अनुदानका लागि करीब रु चालीस लाख बजेट छुट्टाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?