कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

RSS
0
Shares

मान्म । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ ।

यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १ सय ६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७ सय २२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६ सय ९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७ सय ७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५ सय ७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५ सय ४४, रास्कोटमा तीन हजार ३ सय ३ र तिलागुफा नगरपालिकामा दुई हजार ८ सय ९२ गरी कूल २४ हजार ६ सय ११ जना ती समूहका बालबालिका रहेका छन् ।

तीमध्ये पहिलो मात्राको खोप १८ हजार १ सय ६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । ‘जिल्ला शिक्षा विकास समन्वय इकाइ कालीकोटको दिएको डाटाअनुसार २४ हजार ६ सय ११ जना बालबालिका रहेका छन्’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले १८ हजार १ सय ६७ बालबालिकालाई मोडर्ना खोप दिने लक्ष्य दिएको छ । यकीन तथ्यांक पालिकाबाट फेरि मागेका छौँ ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा हालसम्म सञ्चालित कोभिडविरुद्धको खोप अभियानको समीक्षा तथा आगामी पुस महिनाको १२–१४ गते सञ्चालन हुने १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप अभियान सञ्चालन सम्बन्धमा छलफल भएको उनले जानकारी दिए । खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने निमित्त व्यवस्थापक महतले बताए । मोडर्ना खोप जिल्लाका नौ वटै स्थानीय तहका १ सय २० भन्दा बढी खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?