मलेसियामा नेपालीकै कुटपिटबाट नेपाली युवाको मृत्यु

पर्वत । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । 

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । 

करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए । पूर्वी नेपालबाट रोजगारीका लागि पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो । 

मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर क्षेत्री पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।  

परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?