चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छोडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस आर्थिक वर्षमा गोही नदीमा छाड्ने तयारी गरिएको छ । प्रजनन केन्द्रमा हाल ८ सय ५० गोही छन् । हुर्किएका चार/पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको संख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १ सय हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिदै आएको छ । हालसम्म विभिन्न नदीमा एक हजार ५ सय ८५ गोही छाडिसकिएको छ ।
राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो संख्यामा हुर्काएका छाडिने भए पनि नदीमा संख्या विस्तार भने हुनसकेको छैन ।
नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया