प्रचण्डको कटाक्ष- ‘ओली झुट, बेइमानी र धोकाको अर्को नाम’

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वाकयुद्ध चलेको छ ।

केही दिन अघि शेयर बजारबारे प्रचण्डको अभिव्यक्तिप्रति आलोचना भइरहेको छ ।

बुधबार एक कार्यक्रममा ओलीले प्रचण्डलाई सेयर लगानीकर्ताले चन्दा नदिएको तथा पूर्व राजासँग ५ बुँदे सहमति भएको आरोप लगाएका थिए । त्यसको प्रतिउत्तर प्रचण्डले बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिको रुपमा रहेको ओलीलाई आरोप लगाएका छन् ।

त्यस्तै आफ्ना पूर्व सहकर्मी समेत रहेका ओलीलाई धोका, झुट, बेइमानी र धोकाको अर्को रुप भएको आरोप लगाएका छन् । ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के।पी। शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्।’  प्रचण्डले भनेका छन् ।

त्यसैगरी पूर्व राजासँग प्रचण्डको साँठगाँठ रहेको भन्ने ओलीको अभिव्यक्तिलाई प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।

‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’उनले भने, ‘म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

त्यस्तै आफूले सेयर बजारबारे गरेको विश्लेषणा सही भएको प्रचण्डले दाबी समेत गरेका छन् । साथै आफूले लाखौँ लगानीकर्ताको हितको पक्षमा आफूले कुरा गरेको बताउँदै सेयर बजारबारे झुटको प्रचारमा नलाग्न समेत आग्रह गरेका छन् ।

‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?