पैसा खाएको आरोप लागेपछि भावुक हुँदै वीर अस्पतालमा के भने धुर्मुसले?

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालको सरसफाइमा जुटेका सीताराम कट्टेल ‘धुर्मुस’ लाई गम्भीर आरोप लागेको छ । उनलाई वीर अस्पतालको नाममा रकम उठाएर हिनामिना गरेको आरोप लागेको हो ।

केही समयअघि वीर अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले सफाइमा लाग्ने सबै खर्च अस्पतालले बेहोर्ने अभिव्यक्ति दिएका थिए । तर धुर्मुस सुन्तली फाउन्डेसनले भने अस्पतालका नाममा आर्थिक सहयोग जुटाइरहेको छ । यो विषय बाहिर आएपछि स्वास्थ्यमन्त्री पद्माकुमारी अर्याल, निर्देशक बस्नेत र धुर्मुस लगायतले पत्रकार सम्मलेन ग–यो । 

पत्रकार सम्मेलनमा बोल्दै धुर्मुसले वीर अस्पतालको कार्यक्रममा एक रुपैयाँ पनि आफ्ना लागि प्रयोग नगरेको बरु दिनरात भनेर अस्पतालका लागि खटिएको बताए । ‘हामीले अस्पतालमा आएको रकमलाई यहीँ खर्च गर्न भनेर उठाएका छौं, तर वीर अस्पतालका नाममा फाउन्डेसनले उठाएको भनियो, जुन सरासर गलत हो’, धुर्मुसले भने, ‘हामीले कसैसँग चन्दाको अपील गरेका छैनौं, हाम्रो काम देखेर चित्त बुझी सहयोग गर्नेको सहयोग मात्र लिएका हौं, यो रकम अस्पतालमै खर्च हुने हो ।’

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले पनि धुर्मुस सुन्तली फाउन्डेस सँगको सहकार्यमा काम भइरहेको र अब अन्य सरकारी अस्पतालमा पनि यसरी नै अभियान थाल्ने बताइन् । जनताले गरेको सहयोगलाई उनले सकारात्मक रुपमा हेरेको बताइन् । ‘पहिले हामीले रंग मात्र लगाउने भन्ने कुरा थियो, तर अन्य संरचना पनि बनाउने सल्लाह भएपछि समय लम्बिएको छ, केही दिनमा यसको छिनोफानो हुन्छ,’ अर्यालले थपिन्, ‘पहिले हस्पिटलको बाहिरी भागमा नलगाउने कि भन्ने थियो, जनता आफै आएर रंग दिएपछि हामीले बाहिर पनि रंग लगाउने विषयमा छलफल ग–यौं, केही दिनमा नै यो कामको परिणाम देखिनेछ ।’

उनले अब वीर अस्पताल सरकारी अस्पताल नभएर ‘डिजिटल’ अस्पताल बन्ने पनि बताइन् । ‘यो अस्पताल डिजिटल अस्पताल बन्छ, बिरामीले आफ्नो जानकारी पनि अनलाइनमै थाहा पाउन सक्नेछन् ।’, उनले भनिन् ।

सरकार तथा अस्पतालसँग कुरा हुँदा शुरुमा सोचेभन्दा संरचना अझै जोखिमयुक्त भएकाले समय लागेको र दिनरात आफू खटिएर काम गर्दा पनि उल्टो पैसा हिनामिना पारेको भन्ने आरोप लाग्दा मन दुखेको धुर्मुसले बताए ।

‘फाउन्डेसनलाई आएको सहयोग हामीले अस्पताल प्रशासन र मन्त्रालयलाई जानकारी गराएर रिसिभ दिएका छौं, मैले एक रुपैयाँ पनि खर्च भएको देखाउनुहुन्छ भने म जस्तो सजाय भोग्न पनि तयार छु’, धुर्मुसले भावुक हुँदै भने, ‘हामीलाई विश्वास गरेर जुन जिम्मा दिइएको छ, त्यो इमान्दारिताका साथ पूरा गर्नेछौं, तर धुर्मुस सुन्तली फाउन्डेसनले लुटिरहेको छ भन्दा चित्त दुख्दो रहेछ ।’

रंग रोगनको सहयोगार्थ हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रकम उठेको र त्यसमध्ये केही रकम खर्च भइसकेको धुर्मुसले बताए । साथै उनले अहिलेसम्म ४८ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ बराबरको काम भएको उनले बताए ।

वीर अस्पतालमा रंग लगाउन धुर्मुस, राज्यमन्त्री अर्याल र अस्पताल जुटेको छ । अझै केहीदिनको काम बाँकी रहेको र काम सकिएपछि पूरै जानकारी सार्वजनिक गर्ने पनि उनीहरुले प्रष्ट्याए । वीर अस्पताल सफाइ अभियानमा नगद मात्र नभएर जनताले अन्य सहयोग पनि गरेको धुर्मुसले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?