बाबु भन्छ– ‘यी भेडा होइनन्’, तर छोरो लुकेर सबै भेडा बेचिदिन्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूहरू सधैं सदाचारको पक्षमा उभिएको बताएका छन् । बुधबार काठमाडौंमा सभापतिमा पराजित शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा गुरुङले उच्च मनोबल लिएर अघि बढ्नुपर्ने पनि बताएका हुन्।

उनले सभापति पदमा ४० प्रतिशत मत ल्याएर आफ्नो समूहको विचारको उपस्थिति देखाइसकेको उल्लेख गरे । संख्यामा थोरै भए पनि विचारले जितेको उनको भनाइ छ ।

‘सदाचार, विचारको पक्षमा उभिएका छौँ । टाउको अलिकति कम भयो होला, विचारले जितेको छ’, उनले भने, ‘उच्च मनोबल लिएर अघि बढौँ । असफल भए पनि हामी अभ्यास गरिरहन्छौँ । ४० प्रतिशत ल्याएर पास गरिसकेका छौँ ।’

उनले आफूलाई सभापतिमा पराजित डा. शेखर कोइरालाको हारमा विश्वास नभएको बताएका छन् ।

उनले भने, ‘पटककै विश्वास छैन, मान्दा पनि मान्दिन । नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागिरहेको छ–’बाबु भन्छ, यी भेडा होइनन् तर, छोरो लुकेर सबै भेडा बेचिदिन्छ । अनि पिताजी भन्नुहुन्छ ‘बाबु, राजनीतिमा नैतिकता हुन्छ ।’ तर, छोरो भन्छ– ‘परी आउँदा नैतिकता पनि बेचिदिनुपर्छ बा ।’

सभापतिको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले विचारभन्दा पनि व्यक्तिलाई हेरेर मतादान गरेको भन्दै उनले व्यंग्यवाण गरे ।

उनले भने, ‘पिताजीले हुर्काएको गोठभित्र ‘नसकेर पो गोठजस्तो देखिएको हो बाबु, यी सबै मान्छे हुन्, यिनीहरुसँग विवेक छ । तर, छोराहरु भन्छन्, ‘यी कहाँ मान्छे हुन्, यी त सबै भेडा हुन्, सबै बेचिदिनुपर्छ । मलाई विश्वासै लागिरहेको छैन, क्या हो, क्या हो, सपनामा हो कि विपनामा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?