गृहमन्त्री र नगर प्रमुख द्धारा प्रबलीकरण गरिएको नमुना भवनको अवलोकन

गृहमन्त्री रामबहादुर थापाले पूर्व तयारी गरी भूकम्पीय जोखिम न्यूनीकरणका लागि अग्रसर हुन चितवनबासीलाई अनुरोध गरेका छन् । प्रकृति मानिसको मित्र भएकोले प्रकृतिले माग गरेअनुसार काम गर्नुपर्ने भन्दै उनले भूकम्पलाई रोक्न नसकिएपनि यसबाट हुन सक्ने क्षति कम गर्न सकिने बताए । 

भरतपुर नगरपालिकाको वडा नं ४ स्थित भूकम्पीय प्रबलीकरण गरिएको वडा कार्यालय भवनको अवलोकन गर्ने क्रममा गृहमन्त्री थापाले भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेका घरहरुमा प्रबलीकरण अर्थात रेट्रोफिट गरी पूर्वतयारी गर्नुपर्ने बताएका हुन् । 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँगै प्रबलीकरण गरिएको भवन अवलोकन गर्न पुगेका थापाले प्रबलीकरणको प्राविधिक पक्षको बारेमा जिज्ञासा राखेका थिए । 
भरतपुर महानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको सहकार्यमा उक्त भवनको भूकम्पीय प्रबलीकरण गरिएको हो । सम्भावित भूकम्पबाट सुरक्षित बनाउन तथा प्रबलीकरणको प्राविधिक ज्ञान र सीपबारे समुदायमा जानकारी गराउन सो भवनको प्रबलीकरण गरिएको थियो । 

उक्त कार्यक्रममा महानगरपालिकाका ईंन्जिनियर सूर्यप्रकाश लामा र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले गृहमन्त्री थापा लगायत मेयर, उपमेयर लगायतलाई भवनको बारेमा विस्तृत जानकारी गराएका थिए । 

भवन स्प्लिन्टिङ्ग र व्याण्डेजिङ्ग प्रविधिबाट प्रबलीकरण गरिएको हो । प्रबलीकरण कार्यको अवधिमाकूल १९ जना नयाँ डकर्मी र ५ जना ईन्जिनियरहरुले प्रबलीकरणको दक्षता हासिल गरेका थिए । सो भवनमा प्रयोग गरिएको प्रविधि हेरेर समुदायले पनि आफ्नो घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?