काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह : एक हजार ४ सय ४९ विद्यार्थी दीक्षित

RSS
182
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका थिए ।

कार्यक्रममा भारतीय विश्वविद्यालय संघका महासचिव डा ९श्रीमती० पंकज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताइन् । सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता हो भने । उनले भने, ‘आफ्ना सन्तानप्रति अभिभावकको सबैभन्दा ठूलो उपहार शिक्षा हो, उनीहरुको शैक्षिक उन्नयन र आकाश छुने प्रगतिमा कुनै पनि अभिभावक बाधक बन्नुहुन्न ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए । उनले ‘विश्वविद्यालय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो, दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’ उनले विभिन्न विधामा स्नातक भएका विद्यार्थीलाई उपाधी प्रदान गर्न अनुमति दिएका थिए ।

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले नेपालमा सक्रिय चिकित्सक जनशक्तिमध्ये करिब ४५ प्रतिशत काठमाडौं विश्वविद्यालयको उत्पादनले सेवा गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विश्वविद्यालयलाई शिक्षण अस्पताल निर्माणका लागि धुलिखेलको चौकोटमा ५ सय रोपनी जमिन उपलब्ध गराएको स्थानमा फोक्सो अनुसन्धान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार अस्पतालको प्रांगणमा ५० शय्यासहितको ‘मल्टीडिसिल्निरी’ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ‘मेन्टल हेल्थ रिसर्च सेन्टर’ निर्माणको काम अघि बढेको र करिब एक हजार शय्याको ‘सुपर–स्पेसियालिटी÷सब–स्पेसियालिटी’ सुविधासहितको विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना छ ।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४ सय ४९ स्नातक विद्यार्थी दीक्षित भएका हुन् । स्कुल अफ आर्टस्का २ सय ३४, स्कुल अफ एजुकेशनका १ सय ४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४ सय १९, स्कुल अफ मेडिकल साइन्सेजका ५ सय ८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए । साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन् । यसैगरी बंगलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका १ सय २३ जना विद्यार्थी दीक्षित भएका हुन् । यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ लाई विश्वविद्यालयले पहिलोपटक उपाधी प्रदान गरेको हो ।

विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो । विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६ सय २८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९ सय ५४, स्कुल अफ ल का १ सय १६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८ सय ६, स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६ सय ९३ र स्कुल अफ साइन्स्का तीन हजार ३ सय ९१ गरी कूल ३६ हजार ६ सय २४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?