कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै, निक्षेप ३५ र कर्जा ४१ प्रतिशतले वृद्धि

लोकपथ
65
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा कर्णाली प्रदेशभित्र निक्षेप संकलन र कर्जा लगानी उच्च दरमा वृद्धि भएको भेटिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप ३५ दशमलव ९१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३३ दशमलव ८४ प्रतिशतले वृद्धि भई ४२ अर्ब १० करोड २६ लाख पुगेको थियो ।

प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको प्रतिवदनले औल्याएको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा कर्णाली प्रदेशमा कर्जा प्रवाह पनि ४१ दशमलव २२ प्रतिशतले बढेर ५१ अर्ब ३३ करोड १८ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२ दशमलव २४ प्रतिशतले बढेर ३६ अर्ब ३४ करोड ९२ लाख पुगेको थियो ।

कोरोना संक्रमणको प्रभाव न्यून भए पनि अर्थतन्त्र चलायमान हुँदै गएकोले कर्जा विस्तारमा वृद्धि भएको र सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा सुविधा तथा मौद्रिक नीतिले प्रदान गरेका अन्य विभिन्न छुट तथा सुविधाहरुले पनि कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४१२ शाखा रहेका छन् । त्यसमध्ये वाणिज्य बैंकका १९२, विकास बैंकका १७, वित्त कम्पनीका तीन र लघु वित्त वित्तीय संस्थाका २०० शाखा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?