कांग्रेसमा अहिले सुन र पित्तल छुट्टिएको छ- रक्षामन्त्री रिजाल

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् ।  डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने भन्दै यस्तो बताएका हुन् ।

अहिले निराशाको कुरा गर्ने बेला नभएको भन्दै रिजालले भने, ‘सुन र पित्तल तातोमा छुट्टिन्छ, अहिले सुन र पित्तल छुट्टिएको छ ।’ उनले भने, ‘कांग्रेस सभापतिमा कोइरालाको अंकमा पराजित भएपनि विचारको विजय भएको छ ।’

आफूहरुले व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने उनले प्रस्ट पारे । ‘निर्वाचनको जित र हार महत्वपूर्ण होइन, कांग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्त्वपूर्ण कुरा हो,’ उनले भने । ‘देउवालाई महाधिवेशनले जिम्मेवारी दिएको छ, ठूलो परिवर्तनको जिम्मा तपाईको काँधमा दिएको छ । दोहो-याएर सभापति हुँदा तपाईको काँधमा मालामात्र होइन, जिम्मेवारीको बोझ पनि थपिएको छ ।’

डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि काँग्रेसलाई पुनर्जागरण गर्ने जिम्मेवारी मतदाताले डा. कोइरालालाई नै दिएको उनको भनाइ छ । “विजयी भएको छ तपाईं एक्लैको होइन, सन्देशसहितको हो,” उनले भने ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?