कांग्रेसको बागडोर सम्हाल्न दोस्रो पटक देउवा : १३औँ र १४औँ महाधिवेशनमा जित कति सहज ?

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

बुधबार बिहान आएको अन्तिम नतिजा अनुसार २ हजार ७ सय ३३ मतसहित देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी डा. शेखर कोइरालालाई ८ सय ७८ मतान्तरले पराजित गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिद्धन्द्धी डा. कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । कुल ४ हजार ६ सय २३ मत खसेको थियो । भने ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । देशभरबाट कांग्रेसको १४औँ महाधिवेशनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि आएका थिए । तर बाँकीले भने पहिलो र दोस्रो चरणको मतदानमा सहभागिता जनाएनन् ।

सोमबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसेकेको कारण पुनः दोस्रो चरणको निर्वाचन भएको हो ।

त्यससँगै मंगलबार (आज) दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भयो ।

पहिलो चरणको मतदानमा ४ हजार ७४३ मतदातामध्ये चार हजार ५ सय ६२ ले मतदान गरेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले २ हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले २ हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

पहिलो चरणमा कुल ४ हजार ७ सय ४३ मध्ये ४ हजार ६ सय ६९ जनाले मात्रै मतदान गरेका थिए । यो कुल मतदातामध्ये ६४ जनाले मतदान गरेका थिएनन् । भने दोस्रो चरणमा आइपुग्दा त्यो संख्या झनै घट्यो। दोस्रो चरणमा भने ४ हजार ५ सय ६२ जना मात्रै मतदान गरेका हुन् । जसअनुसार कुल महाविधेशनप प्रतिनिधिको १ सय ८१ जनाले मतदान गरेनन् ।

दोस्रो चरणको निर्वाचनमा भने देउवालाई सिंह, निधि र गुरुङले समर्थन गरेका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित देउवाले अबको ४ वर्ष पुनः कांग्रेसको नेतृत्व गर्नेछन् ।

के भएको थियो १३औँ महाधिवेशनमा ?

२०७२ सालमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा पनि दुई चरणको निर्वाचन मार्फत सभापतिमा देउवा निर्वाचित भएका थिए ।

१३औँ महाधिवेशनमा पनि देउवाले ११ मत कम हुँदा दोस्रो चरणमा निर्वाचन भएको थियो । १३औँ महाधिवेशनमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले सभापतिका लागि पहिलो चरणमा प्रतिष्पर्धा गरेका थिए । तर तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनबाट पहिलो भएका देउवा र दोस्रो भएका पौडेलबीच मतदान भएको थियो ।

पहिलो चरणको मतदानमा देउवाले १ हजार ५ सय ४६ मत ल्याएका थिए । भने पौडेलले १ हजार १ सय ६० मत ल्याएर दोस्रो भएका थिए भने सिटौलाले ३ सय २४ मत पाएर तेस्रो भएका थिए ।

सो समयमा देउवालाई ५१ प्रतिशतसहित जित्नका लागि १५ सय ७५ मत आवश्यक थियो । पछि दोस्रो चरणमा पहिलो भएका देउवालाई तेस्रो भएको सिटौलाले साथ दिएपछि देउवालाई जितका लागि सहज भएको थियो।

सिटौलाको साथ पाएपछि दोस्रो चरणमा देउवाले १८ सय २२ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भएका थिए । भने उनका प्रतिष्पर्धी पौडेलले १ हजार २ सय ५६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?