काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएकाे दोस्रो चरणको मतदान सकिएर मतगणना सुरु भएको छ । सुरुवाती चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता कायम गरेका छन् । तर मत परिणाम भने खुलाइएको छैन ।
मंगलबार राति साढे ९ बजे मतगणना सकिएको थियो । १० बजेबाट गणना सुरु भनिए पनि केही ढिला गरि मतगणना सुरु भएको हो ।
तीन स्थानमा राखेर मत गन्न थालिएको र मतगणना सुरु भएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।
सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया