काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानमा चार हजार ७४३ मतदातामध्ये ४ हजार ५६२ ले मतदान गरेका छन् ।
सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको हाे।
सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको हो । हाल सभापतिको प्रतिष्पर्धामा शेरबहादुर देउवा र डा. शेखर कोइराला रहेका छन् ।
यसअघि देउवा कोइरालासहित ५ जना सभापतिको प्रतिष्पर्धामा रहेका थिए । तेस्रो स्थानमा प्रकाशमान सिंह, चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थान हासिल गरेका कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।
मतदान सकिएसँगै राति १० बजेबाट मतगणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया