चौथो चरणमै ५० गोल, एपीएफ र जावलाखेलको खातामा अंक

लोकपथ
105
Shares

काठमाडौं । डिफेन्डर निरज बस्नेतले नेपाल पुलिस क्लबविरुद्ध गरेको डाइभिङ हेडर गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा भएको छ । सोमबार चौथो चरणका खेल सकिँदा ५० गोल पूरा भए । लिगको ५० गोल निरजकै नाममा रह्यो ।

रोचक कुरा के रह्यो भने संकटाले नै लिगमा सुरुआती गोल गरेको थियो । लिगको उद्घाटन खेल गोलरहित बराबरीमा सकिँदा संकटाका लक्ष्मण रुचालले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गर्दै शीर्ष डिभिजन लिग (२०७८) मा सुरुआती गोल आफ्नो नाममा लेखे ।

चौथो चरणको खेल सकिँदा चार टोलीले आफ्नो अपराजित यात्रा कायम राखेका छन् । यस चरणमा रेलिगेसन जोनमा रहेका एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले अंक खाता खोले । चौथो चरणमा आइपुगेर नवप्रवेशी सातदोबाटो युथ क्लब र विभागीय नेपाल पुलिस क्लबले हार बेहोरे ।

साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब लिगमा अपराजित छन् । चौथो चरणमा सात खेल हुँदा सामान चार खेलबाट १० अंक जोडेको मनाङलाई पछि पार्दै मछिन्द्र शीर्षस्थानमा छ ।

समान आठ अंकको संकटालाई पछि पार्दै आर्मी तेस्रो स्थानमा छ भने ७औं स्थानको सातदोबाटो पाँचौ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, ब्रिगेड ब्वाइज क्लब (बीबीसी), नेपाल पुलिस र न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौं, आठौं र नवाैं स्थानमा छन् ।

यता, चार अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब क्रमशः ११ र १२ औं स्थानमा छ । चौथो चरणमा आएर पहिलो अंक जोडेका जावलाखेल युथ क्लब र एपीएफ फुटबल क्लब क्रमशः १३ औं र १४ औं स्थानमा छन् ।

तेस्रो चरणको खेलमा ठूला क्लबहरू मनाङ, मछिन्द्र र आर्मीले सहज जित पाए । एनआरटीले समेत अपराजित रहेको सातदोबाटोविरुद्ध जित पायो । यस्तै बलियो थ्री स्टार एपीएफसँग रोकिन बाध्य भयो । यस चरणमा पाँच खेलमा जितहारको छिनोफानो हुँदा दुई खेलमा कुनै नतिजा आएन । सात खेलमा नाै गोल भए ।

अब, पाँचौ चरणको खेल शुक्रबारबाट सोमबारसम्म हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक मोफसलमा लिग पुर्‍याएको छ । यसअघि केन्द्रकृत लिगलाई एन्फाले पहिलोपटक मोफसलमा लगेको हो ।

पोखरा रंगशालालाई कीर्तिमानी आठौंपटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले आफ्नो होम मैदान बनाएपछि लिग पोखरा पुगेको हो । ३ पुस (शनिबार) २ बजे मनाङले नेपाल पुलिससँग खेल्दै मोफसलमा शीर्ष डिभिजन लिग पहिलोपटक खेल्नेछ । अन्य खेल भने काठमाडौंनै हुनेछ । यसैगरी मनाङले सातौ र आठौं चरणसमेत पोखरा गएर खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?