युवा वर्गलाई स्वदेशमै बसेर काम गर्न सरकारको यस्तो आग्रह

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले देशलाई समृद्ध बनाउने प्रमुख लक्ष्यका साथ कार्य गरिरहेको बताएका छन्  ।

दशौं गणतन्त्र दिवसका अवसरमा फोकस नेपाल नामक संस्थाले आज आयोजना गरेको ‘समृद्धिका लागि सहकार्य, देशका निम्ति अपरिहार्य’ विषयको एक विचार गोष्ठीमा मन्त्री तामाङले आथिक समृद्धि हासिल गर्न सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए  ।

युवा वर्गलाई नेपालमै बसेर काम गर्न आग्रह गर्दै उनले  देश निर्माणमा युवाको महत्वपूर्ण योगदान रहनुपर्ने बताए  ।

नेकपाका नेता देवेन्द्र पौडेलले मुलुकले क्रान्तिको चरण पूरा गरिसकेकाले अब आर्थिक विकास गरी समृद्धि हासिल गर्नुपर्ने खाँचो रहेको बताए । उनले  अब पक्ष विपक्ष सबै मिलेर देशको विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने पनि बताए  ।

अटोमोबाइल्स व्यवसायी दीपक थापाले बजेटमा साना गाडीलाई सहुलियत दिएको र एक हजार सिसीभन्दा माथिकालाई कर बढाएकाले यसले साना गाडी प्रयोगकर्तालाई प्रोत्साहन दिएको बताए  । उनले नेपालमा बाइक फेशनका रुपमा धेरै भएकाले यसलाई नियन्त्रण गर्न जरुरी भएको पनि बताए  ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा जलस्रोत, शिक्षा, फोटोग्राफी, समाज सेवा र पर्यटनको क्षेत्रमा योगदान गर्ने  फोटोग्राफर प्रदीपराज वन्त, शिक्षक गोपाल कार्की, जलस्रोतविद् भरतप्रसाद नेपालसहित २१ जनालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?