बालश्रम प्रयोग भएका सामग्री बहिष्कार गरिने

जिल्लाको सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले बालश्रम प्रयोग भएका निर्माण सामग्री बहिष्कार गर्ने घोषणा गरेको छ ।

कमलविनायकमा दुई नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको बालश्रम मुक्त इँट्टा भट्टा घोषणा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बालश्रम प्रयोग भएर उत्पादन भएका इँट्टा लगायतका निर्माण सामग्री र कार्यालयका लागि आवश्यक पर्ने अन्य सामानमा समेत बालश्रम प्रयोग गरी उत्पादन गरेको पाइएमा बहिष्कार गर्ने घोषणा गर्नुभएको हो ।

उहाँहरुले दुवै नगरपालिकाले छपाइ गर्ने नगरपालिकाका विभिन्न फाराममा समेत बालश्रम प्रयोग नगर्न र बालश्रम प्रयोग भएर उत्पादन भएका सामग्री बहिष्कार गर्न सार्वजनिक रुपमा अनुरोध गर्ने बताउनुभयो ।

कार्यक्रममा बालश्रम मुक्त सूर्यविनायक नगरपालिका–४ दधिकोटमा सञ्चालित दक्षिणबाराही इँट्टा उद्योग, चाँगुनारायण नगरपालिका–८ सुडालमा सञ्चालित सरस्वती माता चिम्नी उद्योग र महामञ्जुश्री इँट्टा उद्योगलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापाले नेपालमा बाल श्रमिक १६ लाख रहेकामा बालिका मात्रै नौ लाख रहेको भन्दै बालश्रम रोक्न स्थानीय तह सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर जिल्लालाई पूर्ण बालश्रम मुक्त जिल्ला बनाउने बताउँदै सन् २०२० सम्ममा देशलाई नै बालश्रम मुक्त बनाउने सरकारको लक्ष्यलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?