विकास निर्माणमा प्रतिपक्ष हुनु हुँदैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा प्रतिपक्ष हुन नहुने बताउनु भएको छ । विघठित प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशका सबै राजनीतिक दल समृद्धिका लागि मूल प्रवाहमा आउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले दुई ठूला पार्टी एक भइसकेपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको नारा विकास, समृद्धि, सुशासन र स्थायित्व भएको भन्दै उहाँले हिजो सार्वजनिक बजेटमा ती कुरा उल्लेख भएको दाबी गर्नुभयो ।विकास निर्माण क्षेत्रमा हुने ढिलासुस्ति नियन्त्रण गरिने भन्दै उहाँले ढिलाइका कारण पहिचान गरी आवश्यक कारबाही गरिने बताउनुभयो । गृह मन्त्रालयले निर्माणको क्षेत्रमा हस्तक्षेप गर्न मिल्छ भन्ने एक प्रश्नमा उहाँले भन्नुभयो, “गृह मन्त्रालयको काम नै कानून उल्लंघन गर्नेलाई कानूनी कठघरामा ल्याउने हो ।” नारायणगढ–मुग्लिन सडकको आज पाँचौँ पटक थपिएको मिति सकिएको विषयमा छानबिन गरेर आवश्यक कारबाही गरिने उहाँले बताउनुभयो ।

अर्काे एक प्रश्नमा उहाँले विद्रोह गरिरहेका केही शक्तिहरुलाई राजनीतिक रुपमा हल गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रयासमा सरकार रहेको उल्लेख गर्नुभयो । अब देश विकास र समृद्धितर्फ लागिसकेकाले देशलाई बिखण्डन गर्न चाहने कुनै पनि शक्तिलाई कानूनी रुपमा कारबाही गरिने गृहमन्त्रीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?