बिम्स्टेक सम्मेलनबारे छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव सहिदुल इस्लामले आज भेट गरी बिम्स्टेकको आगामी शिखर सम्मेलन उपयुक्त समयमा नेपालमा गर्ने विषयमा छलफल गर्नुभएको छ ।

नवनियुक्त महासचिव इस्लामलाई पदबहालीको बधाई दिँदै मन्त्री ज्ञवालीले बिम्स्टेक मातहत हुने सहयोगको आदानप्रदानबाट यस क्षेत्रकै जनताको समृद्धिमा ठोस नतिजा देखिनुपर्नेमा  जोड दिनुभयो ।

नेपालको तीनदिने भ्रमणमा रहनुभएका महासचिव इस्लामले बिम्स्टेकका विविध गतिविधिबारे मन्त्री ज्ञवालीलाई अवगत गराउनुभयो र चौँथो शिखर सम्मेलन काठमाडौँमा गर्न सदस्य राष्ट्रहरु र खासगरी अध्यक्षता गरिरहेको नेपाललाई हरतरहको सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।

उहाँले आजै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?