प्रदेश प्रमुख कोइरालाको अभिनन्दन

 प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आदर्शनारी विकास केन्द्र चितवनको रजत महोत्सवका अवसरमा आज चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहमा उहाँले बेचबिखनविरुद्ध एकजुट हुन सबैलाई आह्वान गर्नुभयो ।

प्रदेश प्रमुख कोइरालाले भन्नुभयो, “आउनुहोस् प्रदेश प्रमुखको हैसियतले र अभियनताको हैसियतले तपाईसँग हात जोडेर के भन्न चाहन्छु भने हामी एकजुट हौँ सबै एकजुट भएर हामी लाग्यौँ भने नेपाललाई बालबालिका र महिला बेचबिखनमुक्त गराउन सक्छौँ ।”

कार्यक्रममा उक्त संस्थाले महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेकामा उच्च मूल्यांकन गर्दै कोइरालालाई दोसल्ला ओढाएर कदरपत्रसहित अभिनन्दन गरेको थियो ।

यसअघि उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसक्नुभएको छ । कार्यक्रममा सामाजिक अभियानमा लाग्ने विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त केन्द्रले सराहनीय काम गरेको भन्दै हिंसा र बेचबिखन रोक्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भरतपुर महानगरमा नेतृत्व सम्हाल्नु अवसर र चुनौती भएको औँल्याउँदै नमूना शहरका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता पौडेलले महिला अघि बढ्नका लागि चुनौतीको सामना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?