कांग्रेस महाधिवेशन : देउवालाई पुगेन ८२ मत, दोस्रो निर्वाचनको तयारी

लोकपथ
6.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन हुने भएको छ ।

भर्खर सार्वजनिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उनले २२ सय ५८ मत प्राप्त गरेका छन् । यो कुल मतको ५० प्रतिशत नभएकाले पुनः निर्वाचन हुने भएको हो । उनले पहिलो चरणमा निर्वाचित हुनका लागि २३४० मत प्राप्त गर्नुपर्ने थियो । मत परिणामअनुसार देउवालाई ८२ मत अपुग देखिएको छ ।

त्यसैगरी अर्का उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । त्यस्तै अन्य उम्मेदवारहरु प्रकाशमान सिंह ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत ल्याएका छन् ।

त्यससँगै दोस्रो चरणको मतदान आजै हुने बताइएको छ ।

सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । भने ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणका निर्वाचन सकिएर मत परिणाम आएपछि मात्रै अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?