काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार सभापति उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् । भने उनलाई अर्का उम्मेदवार डा. शेखर कोइरालाले पच्छ्याइरहेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार १ सय मतगणना भएको छ । जसअनुसार देउवाले ५२२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी डा. कोइरालाले ४१९ मत ल्याएका छन् । त्यसैगरी विमलेन्द्र निधिले ५६, प्रकाशमान सिंहले १०५ र कल्याण गुरुङले ४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया