वास्तविक धरातलमा बजेट आएको छ, ९५ प्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दाबी गरेका छन् ।

नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर ल्याईएको बजेट कार्यान्वनयमा कुनै समस्या नहुने अधिकारीको दाबी छ । रोजगारी सृजना, स्वरोजगार र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर ल्याइएको बजेट सबैका लागि स्विकार्य भएको उनको ठहर छ । 

यसपटकको बजेटले खर्च नहुने ठाउँमा रकम दिने र पछि रकामान्तर गरेर अनियमितता गर्ने प्रवृत्तिको अन्त्य गरेको अधिकारीले बताए । 

बजेटले आर्थिक समृद्धि र विकासको ढोका खोलेको दाबी गर्दै अधिकारीले ९५ प्रतिशत बजेटको कार्यान्वयन हुने बताए । 

आथिक वर्ष २०७५–७६ को बजेट कार्यान्वयन भएपछि त्यसपछिका आर्थिक वर्षमा बजेटको आकार बढाउन सकिने उनको तर्क छ । 

“ऋणै ऋणको बजेट बनाएर काम छैन । वास्तविक धरातलमा उभिएर बजेट बनाएका छौँ । यो बजेट ९५ प्रतिशत कार्यान्वय हुन्छ ।”–उनले भने ।

मन्त्री अधिकारीले सन २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने भएर नै लक्ष्य निर्धारण गरिएको दाबी गरे । 

विमानस्थल थप, स्तरोन्नति र मर्मत कार्य सम्पन्न गरेर पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिने उनको जिकिर छ । पर्यटन क्षेत्रबाट मात्रै एक वर्षमा दुई लाखले रोजगारी पाउने अधिकारीले बताए । 
सरकारी जागिर दिएर बेरोजगार हटाउन नसकिने भन्दै उनले उद्यमशिलता र स्वरोजगार बढाइने बताए ।

“सपनामा रमाउने बजेट होइन । यथार्थको बजेट हो । हजार माइल यात्रा गर्नका लागि पहिलो पाइलबाट सुरु गरेका छौँ ।”–अधिकारीले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?