चोरी डकैति नियन्त्रण विशेष सुरक्षा अभियान, ६९ जना पक्राउ

काठमाडौं । उपत्यकामा हुने चोरी, डकैति, लुटपाट र पकेटमारी नियन्त्रण गर्न महानगरीय प्रहरीले विशेष सुरक्षा योजना अभियान लागू गरेको छ ।
यो अभियानमा महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र परिसर अन्तरगतका प्रहरी वृत्त र प्रभागहरु सक्रिय रहेका छन् ।
उपत्यकाका ‘कोर एरिया’ लगायत वाहिरी क्षेत्रहरुमा दिउँसो र रातको समयमा हुने चोरीका घटनाहरुलाई नियन्त्रण गर्न विशेष सुरक्षा अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
मोटरसाइकलको प्रयोग गरी महिलाको गर्धनबाट सिक्री लुट्ने, झोला तथा खल्तीबाट नगद र मोवाइल चोरी गर्ने, सार्वजनिक यातायातका साधनमा पकेटमारी गर्ने सबै किसिमका चोरी जन्य अपराध नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले चोरी, लुटपाट, डकैति र पकेटमारी जन्य अपराध नियन्त्रण गर्न उपत्यकामा रहेका सबै प्रहरी युनिटसंग सहकार्य गरी अपराध नियन्त्रण गर्ने योजना रहेको जानकारी दिए ।
दिउँसोको समयमा बन्द रहेका घरकोठामा कोही नभएको मौका छोपि मुल ढोकाको ताला फोडी हुने चोरीका घटनामा नियन्त्रण ल्याउन, सहकारी तथा वित्तिय संस्थामा हुने चोरी लुटपाट नियन्त्रण गर्न यो अभियान लाभदायिक हुने छ ।
त्यस्तैं, कार्यालयको ल्यापटप, एलइडी मनिटर, सवारी दुर्घटना, भिडभाडको फाइदा उठाइ हुने पकेटमारी, लुटपाट, सिक्री तान्ने लगायतका अपराध नियन्त्रणमा पनि प्रहरीले सशक्त र प्रभावकारी कारवाही अभियान सञ्चालन गरेको छ ।
ठगी, विभिन्न प्रलोभनमा पारि सर्वसाधारणलाई झुक्यानमा पार्ने, सुन किन्ने वहानामा नक्कली सुन भिराएर नगद लिइ फरार हुने, खुर्सानीको धुलो र विस्कोटको हिलो बनाई बैंक अगाडिबाट नगद बोकेको झोला लुटेर भाग्ने र डलरका नाममा ठगी गर्ने जस्ता अपराध पूर्णरुपमा नियन्त्रण गर्ने योजना आफ्नो रहेको महाशाखा प्रमुख सिंहले बताएका हुन ।
महानगरीय प्रहरीले चोरी, डकैति, लुटपाट, पकेटमारी, ठगीमा संलग्न रहेको अभियोगमा ६९ जनालाई पक्राउ गरेको छ ।
ती मध्ये आठजना बारम्वार सोही अपराधमा पक्राउ परि जेल सजाय भुक्तान गरी मुक्त भएका ब्यक्ति रहेका छन् । २७ जनालाई सार्वजनिक मुद्धा चलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?