यस्तो छ आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्य (विस्तृतमा)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट सार्वजनिक गरेको छ । आज (मंगलवार) संसद भवनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण सार्वजनिक गरेका हुन् । बजेट सार्वजनिक गर्नुअघि संसदमा गणतन्त्र दिवसको अवसर पारेर तत्कालीन माओवादीका बालकृष्ण ढुंगेललाई रिहाइ गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका गगन थापाले विरोध जनाएका थिए ।
संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिएको थियो । सरकारले आगामी आर्थिक वर्षका लागि तेह्र खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

वर्तमान सरकारले नेपाललाई समृद्ध र सुखी बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरेको बताएको छ । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.९ प्रतिशत पुग्ने लक्ष्य लिएको छ । अघिल्लो वर्ष बजेटको अपेक्षित उपलब्धि नभएको सरकारले बताएको छ ।

सरकारले रोजगारी बढाउनका लागि प्रधानमन्त्री रोजगारी कार्यक्रम शुरु गर्ने घोषणा गरेको छ । यसअन्तर्गत व्यवसायिक कृषि, सिँचाई, खानेपानी, नदी नियन्त्रण, वन पर्यटन, यातायात पूर्वाधार जस्ता कार्यक्रम रहनेछन् । वेरोजगारी जनशक्ति दर्ता गर्नका लागि रोजगार सूचना केन्द्र स्थापना गरिने सरकारको बजेटमा उल्लेख छ ।

रोजगारीको अवस्था सिर्जना गर्न सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितोमा राखी ५ प्रतिशत ब्याजमा रुपैयाँ ७ लाखसम्म ऋण उपलब्ध गराउने जनाएको छ । साथै नयाँ ज्ञान, सीप र क्षमताका आधारमा शुरुवाती पूँजी उपलब्धका लागि च्यालेन्ज फण्डको व्यवस्था गरिने सरकारको योजना छ ।

यस्तै विदेशबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न रुपैयाँ १० लाखसम्म ऋण उपलब्ध गराउने र बीमा समेत गराउने बजेटमा भनिएको छ ।

स्वास्थ्य सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाउने भन्दै सरकारले बजेट विनियोजन गरेको छ । आगामी दुइृ वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ ।

ध्यान र योगका लागि नागरिक आरोग्य कार्यक्रम

सरकारले बजेट वक्तव्यमा ध्यान र योगलाई पनि प्राथमिकतामा राखेको छ । स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न भन्दै सरकारले नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने बताएको छ । साथै अब आयुर्वेदिक औषधिको अनुसन्धान तथा विकासका लागि विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि दश करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ क्षेत्रमा रु. ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ ।

विज्ञान तथा प्रविधिमा १ खर्ब बढी विनियोजन

सरकारले बजेटमा वैज्ञानिक अनुसन्धानका लागि भन्दै रु. १ खर्ब ३४ करोड विनियोजन गरेको छ । विज्ञान र प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गरिने सरकारी योजना रहेको छ ।

नेपालमा रेल र मोनो रेलका लागि बजेट विनियोजन

सरकारले दक्षिणी सीमा जोडिएका स्थानीय तह र अन्य भौतिक पूर्वाधारको दृष्टिकोणले पछाडि परेका क्षेत्रहरुका लागि रु. ३ अर्ब ५३ करोड विनियोजन गरेको छ । यसअन्तर्गता तराई–मधश सडक पूर्वाधार विशेष कार्यक्रम पनि सञ्चालनमा ल्याउने बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै प्रत्येक प्रदेशलाई एक अन्तर्राष्ट्रिय व्यापारिक नाकासँग सोझै जोड्ने गरी पूर्वाधार विकास गरिने सरकारी योजना रहेको बताइएको छ ।

यसैगरी काठमाडौंमा उपत्यकामा केबलकार, मेट्रोरेल र मोनोरेल सञ्चालन गर्न सम्भ्याव्यता अध्ययन तथा डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । आगामी आर्थिक वर्षमा मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभित्ता–वर्दिवास, बुटवल–गट्ठाचौकी र मेची–महाकाली–काठमाडौं लिंकमार्गको सम्भाव्यता अध्ययन गर्ने र डिपिआर तयार गरिने बजेट वक्तव्यमा भनिएको छ । त्यस्तै वीरगञ्ज–काठमाडौं, बर्दिवास–सिमरा, र रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माणको डिपिआर तयार गरी निर्माण कार्य थालिने बताइएको छ ।

यातायात पूर्वाधार विकासका लागि मात्र रु. १ खर्ब ९ अर्ब ३८ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ ।

साथै भूकम्प पीडितका लागि आवश्यक बजेट निर्माण गरिएको, प्राकृतिक प्रकोप पीडितलाई आवासका लागि बजेट विनियोजना, शिक्षा, प्राविधिक शिक्षा र स्थानीय पूर्वाधारलाई पनि सरकारले बजेटमा महत्त्वका साथ लिएको छ ।

हेर्नुस् बजेटकाे पूर्ण विवरणः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?