कांग्रेस महाधिवेशन : उडाउनेदेखि ओढ्नेसम्म, मौलिक नाचदेखि हाइटेकसम्म

काठमाडौं –  सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । गत २४ मंसिरमा उद्घाटन गरिएको महाधिवेशनको आज तेस्रो दिन उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार १४औँ महाधिवशेनबाट सभापति चुनिन पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कल्याणकुमार गुरूङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइरालाले सभापतिमा दाबी गरेका छन्।

डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्। यस्तै २ जना निर्वाचित महामन्त्रीका गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ।

त्यस कारण आज उम्मेदवारहरुले प्रचारलाई तीव्रता दिएका छन् । विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरुले प्रचारका विभिन्न माध्यम अपनाएका छन् । नेताहरुबीच प्रचारको होडबाजी नै चलेको देखिन्छ ।

भृकुटीमण्डप आसपासका पोल, भित्तादेखि रुखसम्म, बस बिसौनीदेखि रेलिङसम्म प्रचारका पोस्टरहरु टाँगिएका छन् । वरिपरिका सबै आकाशेपुल पोस्टरले भरिएका छन् । कार्यक्रमस्थल आसपास मात्रै होइन त्रिपुरेश्वर, नारायणहिटीदेखि नागपोखरीसम्म प्रचारका सामग्री पुगेका छन् ।

कलाकारको पोस्टर टाँस्न बन्द भएको जय नेपाल हलमा अहिले नेताहरुको पोस्टरले भरिएको छ । उता प्रज्ञा प्रतिष्ठानभित्र समेत उम्मेदवारहरुको प्रचार सामग्री पुगेको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका भीम पराजुलीले प्रतिष्ठानभित्रै लगेर पोस्टर झुण्ड्याएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सुशिल नाहाटाले नागपोखरी पुगेर प्रचार गरेका छन् भने जय जेपाल हलमा देउवाको बडेमानको पोस्टर टाँगिएको छ ।

ठूल्ठूला पोस्टर प्रर्दशन गर्नेदेखि ठूल्ठूला आवाजमा प्रचार गर्ने प्रतिस्पर्धा समेत देखियो । गीत र बाजा घन्काएर होस् कि लाउड स्पिकर बजाएर होस् प्रतिनिधिहरुको ध्यान खिच्न नेता कार्यकर्ताहरु व्यस्त छन् ।


भृकुटीमण्डपमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा नाराबाजीसँगसँगै पश्चिमेली देउडा नाच प्रस्तुत भइरहेको छ । देउवाका कार्यकर्ताले ब्यागदेखि स्यानिटाइजरमा समेत प्रचार गरिरहेका छन् ।

महामन्त्रीका उम्मेदवार गगन थापाले हाइटेक प्रचार गरिरहेका छन् । थापाले संसद् र विभिन्न कार्यक्रममा गरेको भाषणलाई प्रम्टरमार्फत स्क्रिनमा देखाएर आफ्नो प्रचार गरिरहेका छन् ।


केन्द्रीय सदस्यका उम्मेदवार उदयशमशेर राणाले नेवारी बाजाका साथ छातालाई कलात्मक शैलीमा सजाएर आफ्नाे प्रचार गरिरहेका छन् । भरतबहादुर शाहीले अछामको हुर्का नृत्य प्रस्तुत गरिरहेका छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार सुनिल थापाका कार्यकर्ताले पनि छातामा पोस्टर टाँगेर प्रचार गरिरहेका छन् । केन्द्रीय सदस्य पदका अर्का उम्मेदवार कुन्दलराज काफ्लेले पनि अनौठो किसिमले प्रचार गरिरहेका छन् ।


यस्तै राजन केसीले हाम ज्याकेटमार्फत प्रचार गरिरहेका छन् भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र बजगाँइले ज्याकेटमार्फत प्रचार गरिरहेका छन्।

गणेश साप्कोटाले रंगीचंगी बेलुन उडाएर प्रतिनिधिहरुको ध्यान खिच्ने कोसिस गरिरहेका छन् भने मदनबहादुर अमात्यले महिलाहरुको पञ्चेबाजा समूह ल्याएर प्रस्तुति दिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?