रेमिट्यान्स एसोसियसनको अध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टन्डन चयन

लोकपथ
117
Shares

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा हिजो (शनिबार) सम्पन्न भएको छ । संघले नयाँ नेतृत्व चयन गर्दै होटल एलफ्ट ठमेल काठमाडौंमा आफ्नो १६औं वार्षिक साधारण सम्पन्न गरेको हो।

संघको सम्पन्न १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन(सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) लाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनलप्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.)तथा सचिवमा दिपेन्द्र खनाल(इजीलिंक रेमिट्यान्स प्रा.लि.)चयन भएका छन् । यसैगरी, सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक(ए.टि.टि रेमिट प्रा.लि.), चयन भएका हुन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा(प्रभू मनिट्रान्सफर प्रा.लि.)मनोनित भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागतगर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्षचन्द्र प्रसाद ढकालको भूमिकालाई स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गरे । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्चकदर गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधि मैत्रि बनाउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड-१९का कारण नकारात्मक हुने रेमिट्यान्स गत आर्थिक वर्षमा वृद्धि भएको तर यस आर्थिक वर्षमा भने सुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव इन्द्र प्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्र टण्डनले राखेका थिए । त्यसैगरी, पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भिर्याउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाई पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?