२३ सयको बिन्दुमा झर्‍यो सेयर बजार, व्यापार समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

लोकपथ
455
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । पछिल्लो समय नेपाली सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

३२ सयको बिन्दु चुमिसकेको नेपाली सेयर बजार अहिले २३ सयको बिन्दुमा झरेको छ । बजारमा भारी गिरावट आएसँगै आम लगानीकर्ताहरु त्रसित हुन थालेका छन् ।

बजारमा दिनहुँजसो भारी गिरावट आउन थालेसँगै लगानीकर्ताहरुले सामाजिक संजालभरि नो भोट अभियान चलाएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई चुनौती दिन ‘नो भोट’ अभियान चलाएका हुन् ।

बजार घट्दा लगानीकर्ताहरुले करोडौँ घाटा व्यहोरेका छन् । बजार घटिरहँदा बजार ‘बियरिस ट्रेन्ड’ गएको त हैन ? भन्ने प्रश्न पनि लगानीकर्ताहरुको मनमा उब्जिएको छ ।

तर कतिपय ठूला लगानीकर्ता, सेयर विश्लेषक तथा जानकारहरु भने बजार बढ्नको लागि आएको करेक्सन मात्र हो भनेर तर्क बितर्क गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालभरि सेयर बजारको चर्चा हुन् थालेको छ । आम लगानीकर्ताको आकर्षणको केन्द्र बनेको सेयर बजार निरन्तर ओरालो लागेसँगै यसको बारेमा तर्क वितर्क गर्नेको संख्या पनि बढ्न थालेको हो ।

यसैबीच बजार घटिरहँदा नयाँ तथा साना लगानीकर्ता भने आत्तिएका छन् । कतिपय विश्लेषक भने अहिले बजार प्रवेश गर्ने बेला भएको भन्दै तर्क दिइरहेका छन् ।

आज आइतबार मात्रै सेयर बजारमा ३.६२ प्रतिशतको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा पुगेको छ । नेप्से लामो समयपछि २३ सयको बिन्दुमा झरेको हो ।

आज कुल २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । जसमा सबैभन्दा बढी व्यापार समूहको ७.४५ प्रतिशतले घटेको छ ।

त्यसैगरी, विकास बैंक समूहको ६.४१ प्रतिशत, फाइनान्स समूहको ४.६५ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ४.५३ प्रतिशत, हाइड्रोपावर समूहको ४.५२ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, लगानी समूहको सेयर मूल्य ४.१४ प्रतिशतले घटेको छ त्यसैगरी, जीवन बीमा समूहको ३.८८ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.७४, अन्य र प्रशोधन तथा उत्पादन समूहको ३.१९ प्रतिशत होटल एण्ड पर्यटन समूहको २.९६ प्रतिशत, बैंकिंङ समूहको २.६६ प्रतिशत र म्युचुअल फण्ड समूहको १.३६ प्रतिशतले घटेको छ

आइतबार जम्मा ५ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी १८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । म्युचुअल फण्ड समूहलाई भने कम्पनीमा गनिदैन ।

आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आइतबार उक्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । त्यसैगरी, सर्वाधिक गुमाउने कम्पनीहरुमा लक्ष्मी इक्वीटी फण्ड, जानकी फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, समता लघुवित्त, जोशी हाइड्रोपावर, नेसनल हाइड्रो पावर, जन उत्थान लघुवित, प्रोगेशिभ फाइनान्स र सामूदायिक लघुवित्त रहेका छन् ।

यता युनिलिभर नेपाल, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सका लगानीकर्ताले सामान्य नाफा कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?