पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप हो : प्रचण्ड

लोकपथ
8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन् ।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्नेगरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए ।

अध्यक्ष प्रचण्डले सेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोस्राे बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए।

उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेका बताए । अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको बताए ।

उनले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादी आएको बताए । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?