काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको बताए ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए । नेता पौडेलले बिपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताए ।
नेता पौडेलले भने, ‘हाम्रो संरचनागत समावेशिताको एउटा आधार बनेको छ । तर सदस्यतामा अझै पनि समावेशिता भएको छैन । आगामी दिनमा हामीले त्यो पक्षलाई गम्भीर ढंगबाट हेनुपर्छ । व्यवहारिक पक्षमा संविधानमा लेखेबमोजिम हामीले पार्टी, समाजलाई र मान्छेका मनोविज्ञानहरुलाई समावेशी बनाउन सकिरहेका छैनौँ । त्यो पक्षमा पनि नेपाली काँग्रेसले गम्भीर ढंगबाट काम गर्न जरुरी छ । वीपी कोइरालाको समयमा नेपाली कांग्रेस पार्टी वैचारिक रुपमा जुन ढंगबाट धारिलो थियो । त्यही ढंगबाट, यही रुपमा नेपाली काँग्रेसलाई धारिलो बनाउन आवश्यक छ । यो समाजका सबै विभेदहरुलाई अन्त्य गर्ने प्रयत्न वीपी कोइरालाको नेतृत्वले गरेको थियो । समाजमा भएका सबै विकृतिबाट चिर्ने प्रयत्न त्यतिबेला गरेको थियो । तर त्यही स्वरुपमा आज हामीले गर्न सकिरहेका छैनौँ ।’
नेता पौडेलले नेपाली कांग्रेसभित्र बृहत् एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरुको भावनालाई प्रतिनिधित्व हुनेगरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।
उनले पार्टीका नेताहरु भावनात्मक रुपमा एक हुन नसकेको भन्दै अन्तरसम्बन्धलाई व्यवस्थित गरी एउटा कांग्रेसीलाई चोट लाग्दा सबैलाई दुख्ने स्थिति सिर्जना गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया