काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका हुन् ।
उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेका पनि बताए ।
नेता महतले भने, ‘नेपाली कांग्रेस पार्टीलाई एउटा बलियो पार्टी, विस्तारित पार्टी र सम्पूर्ण जातजाति, धर्मसंस्कृति, भाषा, भेष, सबैको साझा पार्टी, आम जनताको पहुँचमा जोडिने पार्टीको रुपमा रुपान्तरण गर्ने, हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई आदरणीय नेता, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहन्छौँ । उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम निर्वाचनमा पनि एक बनाएर नेपाली कांग्रेसले एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनु छ । नेपाल मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पूरा हुँदैन, अनेक जातजाति, भाषाभाषीहरुको पनि त्यत्तिकै आवश्यक छ । नेता, कार्यकर्ताहरुको सहयोगमा म पार्टीलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिबद्धता जनाउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया