सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । 
      
वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताउनुभयो । 

यही जेठ ७ मे २१ मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।” 
दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भन्नुभयो, “फोहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”
      
विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ । 
 छ पटक सगरमाथा आरोहण सक्नुभएका सोताङका यति शेर्पाले विगत वर्षभन्दा यस वर्ष बढी नै फोहोरको मात्र बढेको बताउनुभयो । “दिनप्रति दिन सगरमाथा क्षेत्र फोहोरले कुरुप बन्दैछ”, शेर्पाले भन्नुभयो, “सबैले चासो नदिने हो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व समेत घट्न सक्छ । जलवायु परिवर्तन, मानिसको चापलगायतले सगरमाथाको सौन्दर्य घटाएकोमा फोहोरले समेत भूमिका खेलिरहेको छ ।”
      
सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नै सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एपिसिसी०ले काम गरिरहेको छ । संस्थाको नियमअनुसार एक जना व्यक्ति बराबर आठ केजी फोहोर अनिवार्य संस्थाको कार्यालय नाम्चेमा ल्याएर बुझाउनुपर्छ । उक्त फोहोर छुट्याएर जल्नेलाई जलाउने र नजल्ने फोहोर काठमाडाँै पठाउने गरिएको एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो । 
      
आरोहीले सगरमाथा आरोहणमा जाँदा चार सय डलरसम्म धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । मापदण्डानुसार फोहोर फिर्ता नल्याएको  प्रतिवेदन प्राप्त भएमा उक्त धरौटी जफत हुने पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  अहिलेसम्म भने फोहोर नल्याएर धरौटी जफत भएको कुनै अभिलेख नभएको सूचना अधिकारी सापकोटाको भनाइ छ । 
      
पर्यटन व्यवसायीका अनुसार आठ केजी फोहोर ल्याउँदैमा त्यस क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापन नहुने प्रष्ट छ । आज सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भए पनि त्यो औपचारिक कार्यक्रमले त्यस क्षेत्रको बास्तविक समस्या पहिचान नहुने यहाँका यहाँका नागरिकको भनाइ छ । त्यसैले यहाँको मुख्य चुनौतीका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि राज्यले नै विशेष कार्यक्रम बनाउनुपर्ने पर्यटन व्यवसायीको माग छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?