प्रदेश सातका मुख्यमन्त्री भट्टको सम्पत्ति १ तोला सुन, एउटा गाई, व्यक्तिगत ऋण २ लाख !

काठमाडौं । प्रदेश सातका मुख्यमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

तत्कालीन एमाओवादीबाट मुख्यमन्त्री बनेका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा मुख्यमन्त्री भट्टले सार्वजनिक गरेको विवरणमा आफ्ना दाजु शालिग्राम भट्टको नाममा एउटा घर र अठार रोपनी जग्गा, त्यस्तै पत्नी दुर्का देवि भट्टका नाममा डोटीको केआईसिंह – ६ मा साढे दुई रोपनी जग्गा देखाइएको छ ।

त्यस्तै संयुक्त रुपमा रहेको सम्पत्ति विवरणअन्तर्गत बैंक मौज्दातमा ७० हजार रुपैयाँ र एक तोला सुन र पन्ध्र तोला चाँदी, त्यस्तै एउटा गाई, एउटा मोबाइल र हाते घडी र वित्तिय ऋण १ लाख ४० हजार र व्यक्तिगत ऋण २ लाख रुपैयाँ देखाइएको छ ।

उनी तत्कालीन माओवादी केन्द्रबाट सात नम्बर प्रदेश सभामा सहभागी १४ सांसदमध्ये सिनियर रहेको भन्दै माओवादीका तर्फबाट मुख्यमन्त्रीका लागि सिफारिस भएका थिए ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहले पनि आफ्नो परिवारका सदस्यका नाममा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले पत्नीका नाममा देखाएको सम्पत्तिमा काठमाडौंको गोठाटारमा एउटा घर, कैलालीमा ६ कट्ठा ८ धुर जग्गा, कञ्चनपुरमा १६९३.१५ वर्गमिटर जग्गा रहेको छ भने दाइ डम्मर बहादुर शाहका नाममा बाजुराको बूढीगंगामा एउटा घर देखाइएको छ ।

त्यस्तै बैंक मौज्दातमा ७३ हजार रुपैयाँ, ५२ तोला सुन, ५०५ तोला चाँदी, १७१० कित्ता शेयर, १ भैंसी, १ बाख्रा देखाएका छन् भने ७ लाख २० हजार वित्तिय ऋण देखाइएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयका मन्त्री दीर्घ बहादुर सोडारीले ५ लाख ६० हजार बैंक मौज्दात देखाएका छन् । उनले देखाएको सम्पत्तिमा ६ तोला सुन र २० तोला चाँदी पनि छ । उनले १० बाख्रा र २ गोरुलाई पनि सम्पत्ति विवरणमा देखाएका छन् । साथै व्यक्तिगत ऋण १ लाख भएको विवरणमा उल्लेख छ । साथै उनका पीता लोकबहादुर सोडारीका नाममा कैलालीमा १५ कट्ठा जग्गा र एउटा घर, अछामको मंगलसेनमा ४ रोपनी जग्गा र १ घर, त्यस्तै पत्नीका नामा कैलालीका दुई स्थानमा १२ धुर र ५ कट्ठा जग्गा देखाइएको छ ।

केही दिनअघि केन्द्रीय कार्यालयकf मन्त्रीहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?