बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्दै किसान

RSS
143
Shares

मान्म । बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताए । ‘खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्र बेमौसमी तरकारी मूल्य शृंखलाअन्तर्गत ११ वटा कृषक समूहका ३ सय ३ घरधुरी समूहमा आबद्ध रहेका छन्’, उनले भने, ‘समूहमा आबद्ध रहेका सदस्यलाई थोपा सिँचाइसहितको प्लास्टिक टनेल, तरकारीको बीउ र जैविक विषादी उपलब्ध गराउनुका साथै प्रत्येक समूहमा सिँचाइ पोखरीसमेत निर्माण भएका छन् ।’

बेमौसमी तरकारी खेती मात्र नभएर पशुपालनका क्षेत्रमा पनि यस कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमअन्र्तगत दुग्ध मूल्य शृंखला विकास कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक ऐडीले बताए । ‘दुग्ध उत्पादनका लागि ४ वटा भैँसीपालन कृषक समूहका ९६ कृषक सदस्य आबद्ध छन्’, उनले भने, ‘यो कार्यक्रमबाट एक/एक रोपनी बराबर उन्नत जातको घाँस खेती, घाँस काट्ने मेसिन र भैँसीको गोठ सुधार तथा प्रत्येक समूहमा एक/एक वटा नश्ल सुधारका लागि उन्नत जातको राँगोसमेत दिइएको छ ।’

संघीय कृषि तथा पशुन्छी मन्त्रालयअन्तर्गतको यो कार्यक्रम ६ वर्षसम्मका लागि सञ्चालनमा रहेको बताइएको छ । बेमौसमी तरकारी खेतीका लागि यो कार्यक्रमले किसानलाई आर्थिक सहयोग प्रदान गरेकाले उनीहरु यसको खेतीतर्फ आकर्षित भएको खाँडाचक्र नगरपालिका–२ गैरागाउँका किसान हजुरा विष्टले बताए । ‘कृषक समूह र तरकारी बिक्री वितरण गर्ने व्यापारीबीच सिधै सम्झौता भएको छ । यसले उत्पादित तरकारीको बजारको अभाव हुँदैन्’, उनले भने, ‘हामीले उत्पादन गरेको तरकारी खेर जान नसक्ने भएकाले किसान बेमौसमी तरकारीतर्फ आकर्षित भएका हुन् ।’

यहाँ उत्पादित तरकारी खरिदका लागि व्यापारीहरु किसानको बारीमा नै पुग्ने गरेको किसान विष्टको भनाइ छ । ‘हामीले उत्पादन गरेको तरकारी खरिद गर्नका लागि व्यापारीहरु खेतबारी मै आउने गरेका छन्’, उनले भने, ‘तरकारी खेर नजाने भएका कारणले हामीले कृषक समूह बनाएर व्यावसायिक तरकारी खेती गर्न तिर लागेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?