महोत्तरीबाट एक भारतीयसहित १० जनाको कैदमाफी

गौशाला । गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ । 

कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा १० जना कैदीको कैद माफी गरिएको हो । 

मन्त्रिपरिषद्को जेठ १३ गतेको निर्णयानुसार ११ औँ गणतन्त्र दिवसको अवसर पारेर आज असल चालचलन भएका र कम्तीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका ८१६ कैदीलाई कारागार नियमावली २०२० को नियम २९ बमोजिम र ज्येष्ठ नागरिक ऐन २०६३ बमोजिम कैद माफी गरिएकोमा महोत्तरी कारागारबाट १० जना कैदीको कैद माफी भएको जेलर ठाकुरले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?