फोरमको भागमा २ मन्त्रालय, सुरु भयो पार्टीमा तनाव

काठमाडौँ- संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारसँग सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुईबुँदे सहमतिसँगै फोरम तीन मन्त्रीसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको हो ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ- सरकारलाई समर्थन गरेको फोरमले सत्तापक्षजस्तो व्यवहार महसुस गर्न नसकेको भन्दै फोरम असन्तुष्ट थियो । सरकारमा सहभागी हुन सहमत भए पनि आन्तरिक विवादले फोरमले मन्त्रीका लागि नाम चयन गर्न सकेको थिएन । विगत दुई महिनादेखि फोरम सरकारबाहिर रहनुको मुख्य एक कारण यो पनि हो ।

प्रत्यक्ष निर्वाचित सांसद मात्रै सरकारमा जानुपर्ने महासचिव रामसहाय यादव पक्षको अडानपछि फोरम सरकारमा उक्लिन सकिरहेको थिएन । पार्टी अध्यक्ष यादवको नाममा विवाद नभए पनि अन्य एकजना मन्त्री र राज्यमन्त्रीको नाममा विवाद छ ।

अध्यक्ष यादवले सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई मन्त्रीमा लैजान चाहेका छन् । तर, महासचिव यादव समूहले सहअध्यक्ष श्रेष्ठलाई रोक्न प्रत्यक्ष निर्वाचित मात्रै मन्त्री बन्नुपर्ने अडान राख्दै आएका छन् । अध्यक्ष यादव भने तराई र पहाड दुवैको सन्तुलन मिलाएर पार्टीभित्र ‘सिनियर’ हैसियतमा रहेका श्रेष्ठलाई मन्त्री बनाउने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?