अब दुई तिहाइको सरकार, फोरम सहभागी हुने भएपछि यस्तो बन्यो अंकगणित

काठमाडौं-संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग संविधान संशोधनको सुनिश्चिततासहितको दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी हुने निश्चित भएको खबर राजधानी दैनिकमा छापिएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीबीच भएको सहमतिमा संविधान संशोधन गर्ने र फोरम नेपाल संघीय सरकारमा सहभागी हुने उल्लेख छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपत्रको एक नम्बर बुँदामा ‘संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधानसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने, सरकारद्वारा गर्न सकिने कामहरू नीति तथा कार्यक्रममा समावेश गरिने, उपरोक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ’ उल्लेख छ ।
घीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग १७४ सिट छ भने फोरम नेपालसँग १६ र राजपा नेपालसँग १७ सिट छ । अब फोरमसहित सरकारमा सहभागी पार्टीको मात्रै १९० सिट हुनेछ, जुन प्रतिनिधिसभाको जम्मा संख्याको ६९.०९ प्रतिशत हो । सरकारमै प्रतिनिधित्व गर्नेको मात्रै दुई तिहाइ पुगेको छ । ओली सरकारले यसअघि नै दुई तिहाइ बढी विश्वासको मत पाइसकेको थियो ।
अहिले प्रधानमन्त्री ओली आफैंसँग रहेको सहरी विकास र स्वास्थ्य तथा जनसंख्यासहित एक राज्यमन्त्री फोरमलाई दिने तयारी भएको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले फोरम नेपाल सरकारमा सहभागी हुने बताउँदै पार्टीको बैठकले मन्त्रीकोे टुंगो लगाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?