खलंगा । जुम्लाको तातोपानी गाउँपालिका–७ स्थित सर्मीको मसानतडामा ट्रस पुल निर्माण हुँदा यहाँका स्थानीयवासी हर्षित भएका छन् ।
गत कात्तिक १ गतेको बाढीले यहाँका दर्जन बढी काठेपुल बगाएपछि यहाँका स्थानीयवासीलाई नदी वारपार गर्न निकै कठिनाइ भइरहेका बेला ट्रस पुल निर्माण हुँदा आवतजावतमा सहज भएको स्थानीयवासी किरण बुढाले बताए । बाढीले काठेपुल बगाएको आठ हप्ताभित्र ट्रस पुल निर्माण भएपछि स्थानीयवासीलाई राहत पुगेको यहाँका स्थानीयवासी बताउँछन् । बाढीले काठेपुल बगाएपछि सिमी, भटमास, कोदो मकैलगायतका अन्न जमिनमै खेर गए, नदी तर्न सकिएन । सक्नेले छिमेकी गाउँबाट छ घण्टा पैदल हिँडी अन्न संकलन गरे, नसक्नेको नोक्सान भयो ।
सो पुलले कम्तीमा पाँच गाउँ९साँपुल्ली, नुवाकोट, सर्मी, माथि खोप्री र तल खोप्री०का स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने स्थानीयवासी चैते परियारले बताउनुभयो । काठेपुल मजबुत नहुँदा बाढी आएका बेला गोठाला भोकै बस्नुपरेको घटना सम्झँदै स्थानीयवासी कुँवरले भने, ‘अब कोही गोठाला भोकै बस्ने छैनन्, कसैको अन्न खेर जाने छैनन् ।’
पूर्वाधार विकास कार्यालय जुम्लाको ३३ लाख ३६ हजार ४ सय रुपैयाँको लगानीमा ३२ मिटर लम्बाइ र १५ फिट उचाइको ट्रस पुल निर्माण भएको मसानतडा ट्रस पुल निर्माण उपभोक्ता समितिका सचिव रेशम हमालले बताए । पुल निर्माणका क्रममा ६६ हजार ७ सय ३० रुपैयाँ उपभोक्ता समितिले श्रमदान गरेका छन् । यसमा प्राविधिक सहयोग टिबिएसय हेल्बटास र सूर्य सामाजिक सेवा संघ फोरएस जुम्लाले गरेका हुन् । तटबन्ध नभएमा पुल बाढीले बगाउने जोखिम रहेको प्राविधिक पूर्णबहादुर थापाले बताए । बाढीले पुल छेउको जमिन कटान गरेको छ, तत्काल तटबन्ध र मेसिनरी वालको आवश्यकता छ, यसो हुनसके पुल दिगो टिक्ने उनको भनाइ छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले दुई लाख रुपैयाँसम्मको तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्वाधार विकास कार्यालय जुम्लाका रुपकबहादुर रावलले पुलसँगै जोडिएको बाटोमा सिँढी, मेसिनरी वाल निर्माणमा सहयोग गर्ने बताए । भेरिखोलाका अन्य क्षतिग्रस्त संरचना पुनःनिर्माणमा तिनै तहका सरकारले चासो देखाउनुपर्ने पूर्वराज्यमन्त्री गोमा कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया