हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी

RSS
182
Shares

लमजुङ । लमजुङमा हुलाक टिकट बिक्रीबाट दुई लाख ६८ हजार ८ सय रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो ।

हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५ सय ८० हुलाक टिकट बिक्रीबाट उक्त रकम आम्दानी गर्न सफल भएको हो । उनले भने, ‘हामीले एकदेखि १ सय रुपैयाँसम्मका टिकट बिक्री गर्ने गरे पनि सबैभन्दा बढी १० र २० रुपैयाँका टिकट बिक्री हुने गरेको छ, पहिलाको जसरी टिकट बिक्री हुन छाडेको छ, गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्म सात लाख १६ हजार ३ सय हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।’

सो अवधिमा ८२ हजार ३ सय ८५ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट सो रकम आम्दानी भएको हुलाक कार्यालयका खरिदार सोतीले बताए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा हुलाक कार्यालयले टिकट बिक्रीबाट पाँच लाख ७७ हजार १सय रुपैयाँ आम्दानी गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त रकम पाँच हजार ४ सय ५३ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?