अपांगता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

RSS
91
Shares

कञ्चनपुर । अपांगता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ ।

लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो । कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए ।

शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपांगता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए । ‘सम्बन्धित पालिकासँग समन्वय गरी अशक्त ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्रवाहक अपांगता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौँ’, हुडकेले भने, ‘पालिकाको सहयोगमा तथ्याङ्क लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ ।’

खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उनले बताए । ‘अशक्त ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति खोप केन्द्रसम्म पुग्न सक्दैनन् । खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पुर्‍याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौँ ।’

पाँच पालिकाका अपांगता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उनले बाँकी भीमदत्त, बेदकोट तथा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताए । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त ज्येष्ठ तथा अपांगता भएका व्यक्तिको पहिचान गरी तथ्यांक उपलब्ध गराउन अहम् भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिपालिकामा दुई सयजना अशक्त अपांगता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताए । उनका अनुसार अभियानमा प्राविधिक सहयोग सर्वांगीण अपांगता विकास समाज नेपालले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?