४ वर्षअघि कटान भइसक्नुपर्ने मन्ताभीर ट्रयाक बल्ल खुल्दै

लोकपथ
286
Shares

जाजरकोट । कागजमा चार वर्षअघि कटान भइसकेको मन्ताभीरको ट्रयाक ओपनको काम बल्ल सुरू भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग दाङले गलत रिर्पोट बनाएर केन्द्रमा पठाएपछि जाजरकोटको मन्ताभीर कामै नगरी निर्माण सम्पन्न भएको विवरण केन्द्रमा पुगेको थियो ।

गलत रिर्पोट केन्द्रमा पुगेको तीन वर्षभन्दा बढी समयपछि मात्र अहिले ट्रयाक ओपन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्ताभीर फोडेर छिटो काम गर्न आग्रह गर्नका लागि मन्त्रालय गएर छलफल गर्दा केन्द्रमा पठाएको रिर्पोटअनुसार मन्ताभीर फोडेर काम सकेको विवरण पेस गरिएको तथ्य सार्वजानिक भएको थियो ।

कामै नगरी मन्ताभीर निर्माण कार्य सकिएको रिर्पोट मन्त्रालयमा भेटिएपछि आफू चकित भएको पूर्वमन्त्री बस्नेतले बताए । गलत रिर्पोट बनाएर काम सक्नु राम्रो काम होइन , कामै भएको छैन । बरु छिटो काम गर्नुहोस भनि आफूले आग्रह गरेपछि अहिले बल्ल मत्ताभीरमा ट्याक ओपन भएको मन्त्री बस्नेतले बताए । यता कामको जिम्मेवारी लिएको निर्माण कम्पनी शर्मा सिंह एण्ड व्रोदरका प्रतिनिधि विश्वास उप्रेतीले मन्ताभीरको कटानको काम भर्खरै सकिएको बताए ।

उनले भने , ‘अन्य काम जारी रहेको छ, अहिले हलुका सवारीसाधनले मात्र मन्ताभीरमा वारपार गरिरहेका छन् ।’ करिब एक किलोमिटर लामो कडा चट्टान रहेको उक्त भीर जाजरकोट खण्डको सबै भन्दा समस्यामुलक ठाउँ मध्य पर्दै आएको थियो ।

८२ किलोमिटर मध्य १६ किलोमिटर पिच सकियो

मध्यपहाडी लोकमार्ग अन्तर्गत ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र पिच गरिएको छ । बाँकी कटानको काम चलिरहेको आयोजनाले बताएको छ । चिसो मौसमका कारण पुसमा पिचको काम बन्द हुने निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले बताए । शर्मा सिंह एण्ड व्रोदरले ५६ किलोमिटर सडक पिचको जिम्मेवारी लिएको छ । माघको अन्तिमबाट पिचको काम सुरु गरिने उप्रेतीले बताए । थलहबजारमा रहेको खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको सडक निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले बताएका छन् ।

थलहबाट बाँकी दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी, केए जेभीले लिएका छन् । तोकिएको समयभन्दा निकै ढिलो कामको गतीका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् ।

ठूला दुइ पुल निर्माण कार्य अधुरै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट दारेगौराको बीचमा रहेको भेरी नदीमा निर्माण गर्ने भनिएको भेरी पुल विगत ९ वर्षदेखि निर्माण नहुँदा समस्या हुँदै आएको छ । निर्माणको जिम्मेवारी लिएको कम्पनीले पुलको जग मात्र राखेर सम्पर्कविहीन भएपछि समस्या हुँदै आएको छ ।

पछिल्लो रिर्पोटअनुसार कोभिडका कारण निर्माण व्यवसायीको मृत्यु भइसकेकोले काममा समस्या हुँदै आएको छ । त्यस्तै थलहमा तीन वर्षदेखि पुल निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्य हुँदै आएको छ । तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीका कारण सर्वसाधारणले बर्सेनि दुस्ख पाउँदै आएका छन् । पुल बनाउन तोकेता गरे पनि निर्माण व्यवसायीले काम गर्छु भन्ने तर तोकिएको समयमा काम नगर्दा जनताले दुःख व्यहोर्नु परेको मध्यपहाडी लोकमार्गको कार्यालय दैलेखले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?