को हुन् कांग्रेस केन्द्रीय सदस्य लड्न लागेका मोहन आचार्य ?

लोकपथ
399
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद ईञ्जिनीयर मोहन आचार्यले उम्मेदवारी दिँदैछन् ।

सांसद आचार्यले नेपाली कांग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जानकारी दिए।

कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए ।

विस २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।

को हुन् मोहन आचार्य ?

विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मिएका सांसद आचार्य परिवारका कान्छा छोरा हुन् ।

विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गरेका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत सक्रिय भएका थिए।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गरेका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै कांग्रेस राजनीतिमा सक्रिय भए।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका थिए ।

विस २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गरेका आचार्यले रसुवा कांग्रेसको संगठनलाई मजबुद बनाएका छन्।

उनले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत कांग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?