भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु

काठमाडौँ – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु गरेको छ । भैँसेपाटीमा अस्पतालकै भवन भएकाले पहिलेकै बन्द भएको सेवा पुनः शुरु गरिएको हो । ललितपुर भैँसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली ,फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ ।

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले भन्नुभयो, “भैसेपाटीमा विसं २०६८ मा पनि बहिरङ्ग सेवा शुरु भई एक वर्ष चलेको थियो तर पर्याप्त जनशक्ति नहुँदा बन्द भयो, त्यसलाई फेरि सञ्चालन गरेका हौँ ।”

सात वर्षअघि जाउलाखेल निवासी कमलमणि दीक्षित र श्यामा दीक्षित दम्पतीले २२ आना जग्गा र त्यहाँ बनेको चार तले अत्याधुनिक भवन प्रसूति गृहलाई दान दिइ सेवा बिस्तार गर्न दिनुभएको थियो ।

शुरुआती दिनमा केही समय सेवा बिस्तार भए पनि विभिन्न कारणले नियमित गर्न नसकेपछि सेवा बन्द भएको अस्पतालका प्रशासक रानु थापाले जानकारी दिनुभयो ।

उक्त क्लिनिकबाट स्त्री, प्रसूति तथा बालरोग विशेषज्ञ सेवा प्रदान गरिने छ । त्यसका लागि क्लिनिकमा स्त्री, बालरोग विशेषज्ञका साथै दक्ष प्रसूतिकर्मी व्यवस्था गरिएको छ । अल्ट्रासाउण्ड, आकस्मिक प्रसूति र ल्याब सेवा प्रदान गरिने बताइएको छ ।

साथै मंगलबारबाट प्रसूति गृहभित्रै बैंकिङ कारोबारका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो शाखा बिस्तार गरेको छ ।

अस्पतालको प्रशासनिक कार्य, सेवाग्राही कर्मचारी, बिरामीको सहजताका लागि सेवा बिस्तार गरिएको हो ।

बैंक कार्यकारी प्रमुख ज्योति पाण्डे र अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले संयुक्तरुपमा सेवा शुभारम्भ गर्नुभएको हो । बैंकले अस्पताल परिसरभित्र २४ सै घण्टा एटिएम सेवा तथा बैंकिङ कारोबार गर्नेछ । सार्वजनिक बिदाका दिन पनि सेवा बन्द नहुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?