मंगलबार बजेट प्रस्तुत हुँदै

सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 

संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । 

अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नुहुनेछ । 

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नुहुनेछ । 

सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?