काठमाडौं । राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले राष्ट्रियताका विषयमा निकास दिने गरी सबै दलले विचार बनाउनुपर्ने बताइन् । देशमा देखिएका विभिन्न खाले समस्या समाधानमा पनि दलीय एकता हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेसका १४औँ महाधिवेशनले त्यस दिशामा पहल गर्ने विश्वास व्यक्त गरिन् ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा शुरु भएको नेपालको प्रजातान्त्रिकरणलाई बाह्य हस्तक्षेपमुक्तरूपमा अघि बढाउन कांग्रेसको महाधिवेशन सफल हुनुपर्ने बताए । बाह्य हस्तक्षेपकै कारण विसं २००७ मा आएको प्रजातन्त्र आउने जाने भइरहेकाले असंलग्नताको नीतिलाई अझै प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।
देश जोगाउने मुद्दामा सबै दल एकजुट हुनुपर्ने नेता मैनालीको आग्रह थियो । तटस्थता र पञ्चशीलको सिद्धान्तलाई सबै दल एवम् तीनका नेतृत्वमा बन्ने सरकारले पालना गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वडातहसम्म एकता, उत्साह र रुपान्तरणको सन्देश लैजान महाधिवेशन सफल हुने बताइन् । राजनीतिमा लोभ, भ्रम र त्रासको खेती अन्त्य गरी आशाको दियो जगाउनु महाधिवेशनको लक्ष्य रहेको उनको विचार थियो ।
काठमाडौं कांग्रेसका सभापति सबुज कृष्ण बानियाँले देशमा सबै कुराको व्यवस्थापन गर्न पार्टीको १४औँ महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसको मोबाइल एपसमेत सार्वजनिक गरिएको थियो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृतिमा प्रकाशन गरिएको पुस्तक विमोचन गरेका थिए । यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेताको तस्बिरमा माल्यार्पणसहित दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका थिए ।
कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोह अहिले भृकुटीमण्डपमा चलिरहेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् । महाधिवेशनका देशभरबाट चार हजार ७ सय महाधिवेशन प्रतिनिधि राजधानी आएका छन् । शनिबार आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न उम्मेद्वारी दर्तासहित बन्दसत्र शुरु हुने कांग्रेसले जनाएको छ । सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । महाधिवेशन उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जुलुससहित कांग्रेस कार्यकर्ता भृकुटीमण्डप आएका थिए ।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । हिमाल, पहाड, तराइका विभिन्न क्षेत्रमा प्रचलनमा रहेको सांस्कृतिक झाँकी पनि महाधिवेशनस्थलमा प्रस्तुत गरिएको छ । महाधिवेशनस्थलमा स्वास्थ्य परीक्षणसहित रक्तदान पनि आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया