रक्षा नेपालमा विवाद, आर्थिक हिनामिनापछि मेनुका फरार

काठमाडौं । रक्षा नेपालकी प्रमुख मेनुका थापा आर्थिक हिनामिनासंगै संस्थाको आश्रयमा रहेका बालबालिकाहरुको विचल्ली पारेर एकाएक वेपत्ता भएकी छिन । 

हिंसामा परेका महिला तथा असहाय बालबालिकाको पुन: स्थापना गर्ने उद्देश्यले स्थापित सो संस्थाको संरक्षणमा रहेका केही बालिकाहरु थापाको खोजीको माग गर्दै आइतवार रानीपोखरीस्थित महानगरीय प्रहरीको कार्यालय पुगेका थिए । 

‘कार्यालयको कामका लागि भन्दै केही दिनअघि काभ्रेको नमोबुद्ध हिडेकी थापाको मोवाइल फोनपनि  ‘कल फ्रवाड’ गरिएको महानगरीय प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक पूजा सिंहले बताएकी हुन । 

‘केही पीडित वहिनीहरु आफूलाई संस्थाको ‘होस्टेल’बाट निकाल्यो, रक्षा नेपाल नामक संस्थाको प्रमुखलाई कारवाही गर्नु पर्यो भन्दै आएक थिए एसएस्पी सिंहले थपिन–मैले कारवाहीका लागि सिडिओ कार्यालय जान भने । 

विभिन्न हिंसाबाट पीडित युवतीहरुलाई रक्षा नेपालले उद्धारसंगै पुन: स्थापना गर्दै आएको छ । यसरी पुनस्र्थापना गरिएका बालिकालाई होस्टेलमा बस्न नदिएको गुनासो उनीहरुको छ । 

रक्षा नेपालकी प्रमुख थापासंग सम्पर्क नभएपछि महानगरीय प्रहरी कार्यालयले बालिकाहरुलाई बु्झन् भनेर संस्था एकअर्को प्रतिनिधिलाई बोलाएको थियो । 

तर, ती ब्यक्तिले पनि संस्था प्रमुख थापामा सम्पर्क नआएकाले बुझ्नलाई अस्वीकार गरेको जानकारी पनि एसएस्पी सिंहले दिएकी हुन । 

 स्रोतका अनुसार, सन् २००४ सालदेखि नै रक्षा नेपालको अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएकी थापा आर्थिक हिनामिनासंगै अध्यक्ष पद छोडेर संस्थाको सिइओ बन्नु भएको थियो । 
रक्षा सहकारीका नाममा उठेको एक करोडभन्दा बढी रकम थापाले एकलौटी खर्च गरि सहकारी नै डुवाएको आरोप पीडित बालिकाहरुको छ । 

पीडित बालिकाहरुले आफ्ना लागि विदेशबाट आएको अनुदानबाट संस्थाकी प्रमुख थापाले आफ्नो नाममा घर–जग्गा खरिद गरेको आरोप पनि उनीहरुको छ । 

आर्थिक अपार्दशितासंगै थापाले संस्थामा एकलौटी गर्न खोजेपछि रक्षा नेपालबाट नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले पनि हात छिकेकी छिन । 

रक्षा नेपालमा आश्रित बालबालिकाहरुको नाममा आएको अनुदान तथा आर्थिक सहयोग पनि थापाले संस्थाको नाममा नभइ आफ्नो नाममा राख्ने गरेको पाइएको छ । संस्थाको रकम ब्यक्तिगत र पारिवारिक खर्चमा लगाउने गरेको भनाई पीडितको छ । 

यसैबीच, पीडित बालिकाहरु भने रक्षा नेपाल र संस्थाका सिइओ थापाका विरुद्ध उजुरी लिएर जिल्ला प्रशसन कार्यालय काठमाडौं जाने तयारीमा रहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?