त्रिपाठीको नेतृत्वमा ‘जनता प्रगतिशील पार्टी’ घोषणा हुँदै

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एमालेको सूर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हृदयेश त्रिपाठीले अन्ततः नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

तराई मधेस केन्द्रित राजनीति छाडेपछि सूर्य चिन्हबाट विजयी त्रिपाठीले २८ मंसिरमा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका हुन् ।

‘२८ मंसिर बिहान ११ बजे एभरेस्ट होटलमा कार्यक्रम आयोजना गरी नयाँ राजनीतिक दलको घोषणा गर्दछौं,’ त्रिपाठीले भने, ‘जनता प्रगतिशील पार्टी (जप्रपा) को घोषणासँगसँगै पार्टीको झन्डा र लोगो पनि सार्वजनिक गर्नेछौं ।’ नयाँ राजनीतिक दलको अवधारणा र घोषणापत्र लेखनको कार्यक्रम अन्तिम अवस्थामा पुगेको जनाउँदै त्रिपाठीले २८ मंसिरमै सार्वजनिक गर्ने जनाएका छन् ।

त्रिपाठीले नेतृत्व गर्ने जप्रपाका अन्य केन्द्रीय नेतृत्वका बारेमा भने कुनै कुरा खोल्न चाहेनन् । ‘नेतृत्व पनि त्यही दिन घोषणा हुनेछ,’ त्रिपाठीले भने । एमालेको सूर्य चिन्हबाट विजयी भए पनि ‘स्वतन्त्र राजनीतिक समूह’ बाट गतिविधि गर्दै आएका त्रिपाठीले चार वर्षपछि मात्र अर्थात् २८ मंसिरमा नयाँ राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?